सिमानाका हाकिमहरु छ महिनामा हेरफेर

सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा पोष्ट (बीओपी) र अस्थायी सुरक्षा बेसमा खटाइने जनशक्ति सरुवाको विद्यमान व्यवस्थामा परिवर्तन गरेको छ । वर्षौंसम्म एकै स्थानमा राखिएका कतिपय अधिकृत र अन्य कर्मचारीको कामकाबाही विवादमा आएको जनाउँदै संगठनले नयाँ व्यवस्था गरेको बताइएको छ ।
निर्वाचन आयोगको पूर्व सहमति लिएर सशस्त्रले कमाण्ड अवधि पूरा भएका कार्यालयहरुमा काज सरुवा गरिएको जानकारी पनि दिएको छ । संगठनले तयार पारेको कार्यविधिमा हालसम्म कमाण्डको अवसर प्राप्त नगरेका अधिकृतहरुलाई पहिलो प्राथमिकता दिइएको दाबी गरिएको छ । त्यसैगरी कम अवसर प्राप्त गरेका अधिकृतहरुलाई दोस्रो प्राथमिकतामा राखिएको कार्यविधिमा उल्लेख छ ।
सशस्त्र स्रोतले भनेको छ, ‘विभिन्न मूल्याङ्कनको आधारमा तयार पारिएको ज्येष्ठताअनुसार क्रमशः प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र अस्थायी सुरक्षा बेसहरुको कमाण्ड जिम्मेवारीमा खटाइएको छ ।’ त्यसैगरी कमाण्ड पूर्वानुमान सूचीमा सूचिकृत नभएर पनि सेवा अवधिका आधारमा अवकाश हुन कम समय बाँकी रहेका र विगतमा कम कमाण्डको अवसर प्राप्त गरेका अधिकृतहरुलाई समेत कमाण्डको अवसर दिई जिम्मेवारीमा खटाइएको छ ।
नयाँ व्यवस्थाको कार्यान्वयनपछि कुनै पनि अधिकृतलाई कमाण्डको निम्ति भनसुनको आवश्यकता नपर्ने दाबी गरिएको छ । अधिकांशलाई आफ्नो पालो र रोलक्रमअनुसार कमाण्ड सरुवा तथा काजको पूर्वानुमान हुने प्रणाली विकसित तुल्याइएको सशस्त्रको उच्च स्रोतले बताएको छ । यसको निम्ति सशस्त्र प्रहरी कर्मचारीहरुको पदस्थापन, सरुवा तथा काजसम्बन्धी कार्यविधि २०७९ र सुरक्षाबेश अदलीबदली निर्देशिका २०७९ समेत जारी गरिएको छ ।
हाल सशस्त्र प्रहरी बलमा डिएसपीको नेतृत्व रहने प्रस्तावित सीमा सुरक्षा गुल्म ४८, इन्सपेक्टरको कमाण्ड रहने बिओपी १ सय १५, डिएसपी बेस २८ र इन्सपेक्टर बेस ५१ वटा छन् । यसअघिको नेतृत्वले उनीहरुको काज सरुवाको विषयलाई सामान्य ढंगले लिइदिँदा कतिपय बिओपीमा २ वर्षसम्म बसेका अधिकृतहरु विवादमा तानिएका थिए । यता, मुलुकको अर्थतन्त्र खस्कँदो अवस्थामा रहेको,राजश्व असुलीमा चाप परेको सन्दर्भमा सशस्त्र प्रहरी बलले गरेको पछिल्लो व्यवस्थालाई सकारात्मक रुपमा व्याख्या गरिएको छ ।
टिप्पणीहरू